वि.सं:
नेपाल संवत: ११४५ थिंलागा षष्ठी - २१
यस विभाग अन्तर्गत रहेका विभिन्न निकायहरू यसप्रकार छन् ।
(क) गोश्वारा हुलाक कार्यालय
हुलाकबाट प्रदान गरिने सबै सेवाहरू एउटै हुलाकबाट उपलब्ध गराउने र नेपालबाट विश्वका विभिन्न देशमा हुलाक बस्तुको आदान प्रदान गर्नका लागि गोश्वारा हुलाक कार्यालयको स्थापना गरिएको हो । वि. सं. १९३५ सालमा “नेपाल हुलाक घर” को स्थापना पछि गोश्वारा हुलाक कार्यालयले कार्य प्रारम्भ गरेको पाइन्छ। नेपालले वि. सं. २०१३ साल असोज २६ गते विश्व हुलाक संघको सदस्यता लिए सँगै वि. सं. २०१६ सालमा वैदेशिक डाँक आदान प्रदान हुन थालेपछि यसको भूमिका अझ बृहत भएको छ । गोश्वारा हुलाक कार्यालय हुलाक सेवा विभाग अन्तर्गतको कार्य सञ्चालन स्तरको प्रमुख कार्यालय हो । राजपत्रांकित द्वितीय श्रेणीको प्रमुख हुलाक अधिकृतको नेतृत्वमा रहेको यो कार्यालयले विश्व हुलाक संघले पारित गरेका ऐन, नियम तथा नेपाल सरकारद्वारा पारित ऐन, नियम, नीति, निर्देशन बमोजिम आन्तरिक तथा बैदेशिक डाँक सञ्चालनका साथै जनतालाई विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ । गोश्वारा हुलाक कार्यालय रहेको भवन मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माण भई वि. सं. २०२३ सालदेखि सुन्धारा, काठमाडौंमा रहिआएको भए पनि वि. सं. २०७२ सालको महाभुकम्पले सुन्धारास्थित धरहरा भत्किएकाले उक्त धरहरा पुनर्निर्माणका लागि भनि यस कार्यालयको सुन्धारामा अवस्थित भवन खाली गर्नुपर्ने अवस्था सृजना भएकोले हाल यस कार्यालय सुन्धाराबाट डिल्लीबजारस्थित हुलाक सेवा विभागको लागि भनि तयार पारिएको भवनमा स्थानान्तरण भई निरन्तर सेवा प्रदान गर्दै आएको छ । यस कार्यालय अन्तर्गत काठमाडौ जिल्लाको २० स्थानमा इलाका हुलाक कार्यालय र सो अन्तर्गतका ५२ स्थानमा अतिरिक्त हुलाक कार्यालय तथा ३ स्थानमा हुलाक काउण्टरहरु रहेका छन् ।
(क) गोश्वारा हुलाक कार्यालयले गर्ने मुख्य कार्यहरु निम्नानुसार छन्:
थप जानकारीको लागि तलको लिङ्क प्रयोग गर्नुहोला।
(ख) हुलाक प्रशिक्षण केन्द्र
नेपालको हुलाक सेवा अन्तर्गत कार्यरत जनशक्तिलाई तालिम तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले हुलाक सेवा विभाग अन्तर्गत हुलाक प्रशिक्षण केन्द्र रहेको छ। यस प्रशिक्षण केन्द्रबाट मध्यम तथा निम्न स्तरको जनशक्तिलाई आधारभूत तथा दक्षता अभिवृद्धि सम्बन्धी तालिम तथा प्रशिक्षण सञ्चालन र व्यवस्थापन हुँदै आएको छ । हुलाक प्रशिक्षण केन्द्रले प्रशिक्षण सञ्चालनका लागि आवश्यक स्रोत पुस्तिकाहरु निर्माण गर्ने, पाठ्यक्रम तर्जुमा गर्ने, प्रशिक्षकहरुको रोष्टर तयार गर्ने, कार्ययोजना बनाई प्रशिक्षण सञ्चालन तथा व्यवस्थापन गर्ने एवं यस सम्बन्धी अभिलेख व्यवस्थापन गर्ने लगायतका कार्यहरु गर्ने गर्दछ। सीमित स्रोतसाधन, दक्ष प्रशिक्षकको अभाव, उपयुक्त पूर्वाधारको कमी जस्ता समस्याहरुले प्रशिक्षण सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष असर पारेको देखिन्छ । यस केन्द्रमा प्रशिक्षण सञ्चालन तथा व्यवस्थापनका लागि उपसचिवस्तरको मुख्य प्रशिक्षकको नेतृत्वमा जम्मा १० जनाको दरबन्दी रहेको छ।
थप जानकारीको लागि तलको लिङ्क प्रयोग गर्नुहोला।
(ग) हुलाक निर्देशनालयहरु - ६
प्रदेश स्तरमा जिल्ला हुलाक कार्यालयहरुबीच समन्वय, अनुगमन, सुपरीवेक्षण गर्न हुलाक सेवा विभाग अन्तर्गत ६ वटा हुलाक निर्देशनालयहरु मोरङ, धनुषा, कास्की , सुर्खेत, दाङ र कैलालीमा रहेका छन्। यी हुलाक निर्देशनालयहरुले आफनो कार्यालय रहेका जिल्लाको जिल्ला हुलाक कार्यालयको कार्य गर्दै मातहतका जिल्ला हुलाकहरूको सुपरिबेक्षण समेत गर्दछन् । हुलाक निर्देशनालयहरूमा हुलाक निर्देशक, हुलाक अधिकृत, नायब सुब्बा, लेखापाल, खरिदार, हलुका सवारी चालक, हल्कारा, हल्कारा, हुलाकी र कार्यालय सहयोगी गरी कुल दरबन्दी संख्या ३८१ रहेको छ।
(घ) जिल्ला हुलाक कार्यालयहरु - ७०
हुलाक निर्देशनालयहरु रहेका जिल्लाहरु बाहेक अन्य ७० जिल्लाहरुमा जिल्ला हुलाक कार्यालयहरु रहेका छन्। यी कार्यालयहरुले जिल्लाभरीको डाँक व्यवस्थापन र सञ्चालन तथा अन्य जिल्लाबाट प्राप्त डाँक वितरण, हुलाक बचत बैंक, धनादेश सेवा लगायतका अन्य सेवा सञ्चालन गर्दै आइरहेका छन्। जिल्ला हुलाक कार्यालयहरुले हुलाक सम्बन्धी कार्यको अतिरिक्त लोक सेवा आयोगका कार्यालय नरहेका जिल्लामा लोक सेवा आयोगको दरखास्त फाराम दस्तुर संकलन,केवल टि.भि. को अनुगमन तथा राष्ट्रिय सूचना आयोगले तोके बमोजिम आ-आफ्नो जिल्लामा अन्य कार्यालयहरुले गरेका सूचनाको हक सम्वन्धी कामको अनुगमन निरिक्षणको काम समेत गर्दै आइरहेका छन्। जिल्ला हुलाक कार्यालयहरूमा हुलाक अधिकृत, नायब सुब्बा, लेखापाल/सह-लेखापाल, खरिदार, हल्कारा, हल्कारा, हुलाकी र कार्यालय सहयोगी गरी कुल दरबन्दी संख्या ५४७५ रहेको छ।
(ङ) हुलाक कार्यालयहरु - ६७६
हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरुका साथै देशभरी ६७६ हुलाक कार्यालयहरु रहेका छन्। यी कार्यालयहरुले आफ्नो स्थानीय तहमा डाँक ढुवानी तथा वितरण, हुलाक बचत बैंक, लगायतका अन्य सेवा सञ्चालन गर्दै आइरहेका छन्।
(च) अतिरिक्त हुलाक कार्यालयहरु - ३०७४
अतिरिक्त हुलाक नियमावली, २०३४ अन्तर्गत रहेर हुलाक सेवा विभागले अतिरिक्त हुलाकको स्थापना गर्नसक्ने व्यवस्था छ। सो अनुरुप हाल मुलुकका ७७ जिल्ला अन्तर्गत ३०७४ वटा अतिरिक्त हुलाकहरु रहेका थिए। यिनीहरुको कार्य भनेको नै डाँक ढुवानी तथा वितरण हो। अतिरिक्त हुलाकमा हुलाक प्रतिनिधि, डाँक बहाक र पत्र वितरक गरी तीन किसिमका जनशक्ति रहने गर्दछन् । अतिरिक्त हुलाक नियमावली (पाचौं संशोधन) ले ५८ वर्ष पूरा भएका अतिरिक्त हुलाकका कर्मचारीहरुलाई अनिवार्य अवकाशको व्यवस्था गरेसँगै अतिरिक्त हुलाक कार्यालयहरु पनि क्रमश: खारेज हुँदै जानेछन्।